संसद् खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

0

संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन उहाँले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताउनु भएको सभामुखको निजी सचिवालयले जनाएको छ । एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ ।

सरकारले भने अनुसन्धानका लागि उच्चस्तरीय समितिको आवश्यकता नरहेको जनाएको छ । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।

आज थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

Leave A Reply

Your email address will not be published.