एनसीसीहरुलाई बलियो बनाउन समन्वयकारि भूमिका खेल्ने प्रतिबद्धता गर्दै बुद्धिसागर सुबेदी द्वारा आईसिसी महासचिबमा उम्मेद्बारी घोषणा ,

0

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि एनसीसी अमेरिकाका निबर्तमान अध्यक्ष बुद्धि सागर सुबेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । गैरआवासिय नेपाली संघ अमेरीकाको अध्यक्ष रहदा एनसीसिहरुको सशक्तिकरणको लागि निकै सकृय रहनु भएका सुबेदीले शनिबार बेलुका आइसिसीको महासचिबमा उमेद्धवारी घोषणा गर्नु भएको हो ।

भर्चुयल आयोजना गरिएको उम्मेद्बारी घोषणा कार्यक्रममा सुबेदीले आइसिसिले एनसिसीमा हस्तक्षेप भन्दा सहकार्य गरेर काम गरे गैरआवासिय नेपाली संघका राष्ट्रिय समन्वय परिषद र अन्तरराष्ट्रिय समन्वय परिषदलाई बलियो बनाउन सकिने भएकोले सोही अनुरुप काम गर्ने गरी आफ्नो उमेद्धवारी रहेको बताउनु भएको छ ।

एनसिसीहरु नै संस्थाको आधार भएका कारण आइसिसीका हस्तक्षेपकारी विधानका प्रावधानलाई परिवर्तन गर्न आफनो महासचिब पदमा उमेद्धवारी रहने सुवेदीले बताउनु भयो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद लामो समयदेखि शासकको शैलीमा प्रस्तुत हुने, केही पदाधिकारी र जिम्मेवार व्यक्तिबाट गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुमाथि विभेदकारी र ज्यादतीपूर्ण रूपमा भइरहेको अत्याचारपूर्ण व्यवहार हामीले भोगेका र अनुभव गरेका छौँ ।’ पत्रकारहरुलाई सम्बोधन गर्दै सुवेदीले तितो अनुभब सुनाउनु भयो ।

उहाले अगाडि भन्नु भयो स्थानीय कानुन अनुसार दर्ता गरेर विधि विधानसम्मत ढङ्गले अगाडि बढेका, संगठनका नीति नियमको अधिनमा रहेर संस्थाको उद्देश्य र जनभाबना साथै स्थापनाको मर्म अनुरूप काम गर्ने एनसीसीहरुमा अनेक बहानामा हस्तक्षेप गर्ने र सम्बन्धन खारेज गरिदिने भनी पटक पटक दिइएका धम्की खेदजनक छन् । विधि, विधान र प्रक्रियामा चलेका एनसीसीलाई दुख दिने र आफ्नो इसारामा चल्नेलाई मात्रै सबै छुट दिने विभेदकारी चरित्र भएकाहरूको दबदबा संस्थाभित्र जारी रहेकोले त्यसलाई निरुत्शाहित गरेर सबैको अपनत्व हुने गरी संगठन चलाऊने उहाले बताउनु भएकोछ ।

लागेको काममा निरन्तर कृयाशिल सुबेदीको कार्यकालमा गैरआवासीय नेपाली संघ अमेरीकाको भवन खरिद लगाएत संस्थालाई प्रकृया र पद्धतिमा चलाऊनका लागि महत्वपुर्ण कामहरु भएका छन् ।

सुबेदीका प्रतिबद्धताहरु

क) एनसीसीहरुले आफ्नो विधान, परिधि र परिस्थिति अनुरूप हस्तक्षेप र अवरोध विना स्वतन्त्रतापूर्वक काम, निर्वाचन र प्रतिनिधि चयन गर्न पाउनु पर्छ । एमआइएस सिस्टमका नाममा सदस्यहरूको व्यक्तिगत विवरण असुरक्षित हुने र आइसीसीसँगको सम्बन्धनका नाममा सम्बन्धित देशको कानुन बाहिर गएर काम गर्नु पर्ने बाध्यताको अन्त गर्नु पर्छ । व्यवस्थित र पारदर्शी गर्न सर्वस्वीकार्य विधि र प्रक्रिया अवलम्बन गर्नु पर्छ ।

ख) एनसीसीको सदस्यसम्म नभएका कतिपय आफ्नो प्रभावका ब्यक्तिहरुलाई आइसीसीका विभिन्न समिति उपसमितिमा ल्याउने र एनसीसीहरुले उनीहरूलाई प्रतिनिधि बनाउन वाध्य गराउने निर्लज्ज र चरम हस्तक्षेपकारी काम विगतमा भएका छन् । आफै प्रतिनिधि छानेर आफै स्वघोषित पदाधिकारी निर्वाचित हुने वा बनिरहने अप्रजातान्त्रिक चरित्र आइसीसीमा हावी छ । यसलाई रोक्न एनसीसी र आइसीसीको निर्वाचन सँगै र सबै पञ्जीकृत सदस्यहरूबाट हुने व्यवस्था गर्नु जरुरी छ ।

ग) आइसीसीको सञ्चालनको प्रमुख श्रोतको रूपमा रहेको सदस्यता शुल्क प्रशासनिक खर्चमा धेरै प्रयोग गरिनु हुन्न । आइसीसीका अधिकांश पदाधिकारी र सदस्यहरूले आफ्नो पदीय जिम्मेवारी आफैले निर्वाह गर्ने परिपाटीको थालनी गरी आवश्यक मात्र कर्मचारी राखेर काम गर्नु जरुरी छ ।

घ) नेपाली नागरिकता लिइसकेका सबैको नागरिकता कायम राख्दै देश बाहिर जन्मिएका केटाकेटीलाई मात्र गैर आवासीय नेपाली नागरिकता दिलाउन संविधानमा नै परिवर्तन गर्न आइसीसीले विशेष पहल गर्नु पर्छ ।

ड) दुई देशबीच दोहोरो कर प्रणाली अन्त्य गर्नका लागी ठोस रुपमा काम अगाडि बढाउन नेपाल सरकारलाई सल्लाह, सुझाव र दबाब दिनु जरुरी छ । यसबाट नेपालमा विदेशी र गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न सहयोग पुग्छ ।

च) देश बाहिर नेपाली र नेपाली मूलका विज्ञहरु विश्वका प्रतिष्ठित कम्पनी, विश्वविद्यालय, अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहॅाहरुको ज्ञान सिप र पूँजीलाई नेपाली र नेपालको विकास र समृद्धिमा जोड्न विज्ञ भेलामा छलफल र प्रस्तुति भइरहेको छ । कागजी प्रयासलाई अव ठोस रुपमा कसरी कार्यान्वयन गर्ने भनेर केही उदाहरणीय कामको थालनी गर्नु पर्छ ।

छ) मलेसिया, मध्यपूर्व लगायतका कतिपय देशमा गएर काम गरिरहनु भएका नेपालीहरुको रोजगारी, स्वास्थ्य र जीवन सुरक्षामा चुनौति रहेको छ । यसका लागि सामाजिक सुरक्षा कोषको स्थापना र उचित संयन्त्र बनाएर काम थाल्नु पर्छ ।

माथि उल्लेखित एजेन्डाहरु कार्यान्वयन गर्न, संघको केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन, एनसीसीहरु माथिको अनावश्यक हस्तक्षेप रोक्न, संसारभरि रहनु भएका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न मैले उम्मेदवारी दिएको हुं।

साथीहरु, एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित अध्यक्षको रुपमा थुप्रै चुनौतीहरु हुँदाहुँदै पनि हामीले गरेको काम तपाईंहरु सामु स्पष्ट छ। नेपालमा साँढे तीन करोड बराबरका औषधि लगायतका सामग्रीहरु पठाउने, आफ्नै कार्यालय स्थापना गर्ने, अमेरिका निवासी नेपाली समुदायको हितका लागि कैयौं काम गर्नुका साथै एनआरएनएले शुरु गरेको मोबाइल बस ब्लड बैंक लगायतका परियोजनालाई पनि हामीले सक्दो सहयोग ग-यौं।

यी कार्यहरु सम्पन्न गर्न मलाई अमेरिकामा रहनु भएका साथीहरुको सक्रिय सहयोग र संसारभरि रहनु भएका साथीहरुको सद्भावलाई आफ्नो सम्पत्ति ठानेर मैले तपाईंहरु संगै सरसल्लाह गरी आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।

मैले आफ्नो घोषणा पत्र छिट्टै सार्वजनिक गर्ने छु। विगत मा झैँ आगामी दिनमा पनि मैले तपाईंहरु सबैको साथ, सहयोग र मायाको अपेक्षा गरेको छु। धन्यवाद !

बुद्धि सागर सुवेदी

निवर्तमान अध्यक्ष,

तथा २०२३-२५ का लागि एनआरएनए आइसीसीको महासचिव पदका उम्मेदवार

मिति: १२ अगष्ट २०२३

Leave A Reply

Your email address will not be published.