सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गर्‍यो : ओली

0

काठमाडौं \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको बताएका हुन् ।

उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । … युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर… त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।

एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजीति सरु गरेको ओलीले बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनेँ यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरुमात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन ।’

सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् । ‘पार्लियामेन्टमा सुनकाण्डको विरोध गरेपछि अचानक हत्कडी लगाउन आयो । किन भन्दा उहिले तिमी विद्यार्थी हुँदा छेउको साथीको चिट चोरेका थियौं नि …!’ओलीले भने ।

Leave A Reply

Your email address will not be published.