एनआरएनएको ११ औ महाधिवेशन एंव विश्व सम्मेलन अक्टोवर १७ बाट २० सम्म काठमाडौंमा हुने

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलन १७ देखि २० अक्टोवर सम्म काठमाडौंमा हुने भएको छ। गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले युवा तथा विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले संघको अगामी महाधिवेशनमा उम्मेद्वारहरुका लागि उम्मेदवारी शुल्क घटाऊने निर्णय पनि गरेको छ ।

एनआरएनएका महासचिव केशव पौडेलका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ । यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क तोकिएकोले निर्वाचन प्रकृया र शुल्कको बारेमा संघको आलोचना हुदै आएको थियो ।

बैठकले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ । पहिलो चरणमा ९० प्रतिशत पूर्व पदाधिकारीहरुले स्मार्ट एनआरएनए एप मार्फत आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको बैठकबाट सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

बैठकले गत महाधिवेशनबाट अलग गतिविधि गर्दै आएको पक्षसंग गत जुन महिनामा भएको सहमतिलाई अगामी १२ अगष्टमा हुने विशेष अधिवेशनबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

साथै गत हप्ता सम्पन्न गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरु माथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ । बैठकले संघको ११ औं महाधिवेशनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघका नयाँ निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ ।
संघको निर्वाचन सम्बन्धी कार्यतालिका निर्वाचन समितिले छिट्टै सार्वजनिक गर्ने बताएको छ । संघको नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष डा बद्री केसी, रविना थापा र उपाध्यक्षहरु महेश श्रेष्ठ, आरके शर्मा र डा. हेमराज शर्मा, वर्तमान महासचिव केशव पौडेलले चाहना राखेका छन ।

 

 

 

Leave A Reply

Your email address will not be published.