एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्‍याउँछौँ : मन्त्री शर्मा

0

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजित  टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुगाउने तयारी गरिएको बताउनुभयो । धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट लग्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

आफूले मन्त्रीको पद बहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न उहाँले नेपाल टेलिकमलाई आग्रह गर्नुभयो ।

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबीच समन्वय नहुँदा समस्या आउनेगरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गर्नुभयो । जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताको समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव सङ्कलन अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठुलो योगदान गरिरहेको उल्लेख गर्दै उहाँले देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवम् नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्यहरू किसान श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले धारणा राख्नुभयो ।

कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाहीका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिनुभयो । शुक्रबार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमको सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.