नेपालमा डेङ्गी देखा परेपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

0

नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो ।

डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.रुद्र मरासिनीले जानकारी दिनुभयो । धेरै जोखिम रहेका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको उहाँको भनाइ छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, पालिका तथा  रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाका बारेमा स्पष्ट पारिएको छ ।

डा. मरासिनीका अनुसार नेपालमा सन् २००४ देखि अहिलेसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेङ्गीको संक्रमण भएको छ । यसवर्ष असारसम्ममा २ हजार ९ सय ३० जनामा संक्रमण देखिएको छ । डेङ्गीको संक्रमण रोकथामका लागि संघ, प्रदेश र पालिकाबिच समन्वय भइरहेको पनि उहाँको भनाइ छ ।

सरकारको प्राथमिकतामा लामखुट्टे बस्ने ठाउँ खोजी र नष्ट, घरआँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँ पहिचान गरी सरसफाइ गर्ने रहेको पनि उहाँले बताउनुभयो । डा. मरासिनीका अनुसार लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने गर्छ ।

उहाँले मनसुनसँगै डेङ्गीका बिरामीको संख्या पनि बढेको बताउनुभयो । डेङ्गी एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा लामखुट्टेको माध्यमबाट सर्ने गर्छ । डा.मरासिनीले सरकार अहिले डेङ्गी रोकथाममा गम्भीर भएर लागेको बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले डेङ्गी रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ग्यारेजमा फालिएका टायर, ड्रम, खाल्डाखुल्डीमा जमेको पानी डेङ्गी फैलाउने लामखुट्टेका बासस्थान मानिन्छ । तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि डेङ्गीका संक्रमित देखिन थालेका डाक्टरले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु नै यो रोग रोकथामको मुख्य उपाय रहेको डा. पुनको भनाइ छ ।

डेङ्गी संक्रमण भएमा ज्वरो आउने, टाउको जीउ दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ । यस्ता लक्षण देखिएमा अस्पताल जान र रगत जाँच गर्न तथा डाक्टरको सल्लाह अनुसार घरमै आराम या उपचार गर्न पनि डा.पुनको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.