नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट

0

काठमाडौँ \  गत वर्षमा मुलुकमा आउने वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ ।

गत वर्ष सबैभन्दा धेरै सेवामूलक १३४ उद्योग र पर्यटन १३४ परियोजनामा लगानी प्रतिबद्धता भएको छ । यस्तै सूचना प्रविधि १६, उत्पादनमूलक २९, पूर्वाधार १० उद्योगमा लगानी प्रतिबद्धता भएको छ ।

गत वर्ष सबैभन्दा कम ऊर्जा र कृषिजन्यमा एक/एक परियोजनामा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको विभागको तथ्याङ्क छ ।

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले गत वर्ष विदेशी लगानीको सीमा घटाएकाले पनि लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा सङ्ख्यामा लगानी बढे पनि रकममा भने कमी भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष सङ्ख्यामा विदेशी लगानी बढे पनि विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको उहाँले जानकारी दिनुभयो ।

गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको छ । गत वर्षको विभागका अनुसार गत वर्ष असार महिनामा ५४ परियोजनामार्फत ३७ अर्ब १५ करोड ५० लाख रुपियाँ प्रतिबद्धता आएको थियो ।

जेठ महिनासम्म सबैभन्दा धेरै सेवा क्षेत्रमा ११९ परियोजनामार्फत लगानी प्रतिबद्धता आएको छ । साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँको लगानी प्रतिबद्धता भएको छ । यस्तै असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएको छ ।

विभागका अनुसार पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । चैत महिनामा सात अर्ब ५५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार सुरुदेखि हालसम्म चार खर्ब ५६ अर्ब ३८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । वैदेशिक लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.