कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

0

काठमाडौं \  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्नुहुँदै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको हो।

उहाँले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ। असार महिना किसानको महिना र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो। त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो,‘‘असार महिनामा किसानको समय हो। किसानको समस्यामा सहजीकरण गर्ने। समुदायलाई अफ्ठेरो परेको बेलामा तयारी हुन्छौँ। केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ। त्योबाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था बन्छ।’’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्नुभएको छ। त्यस्तै समितिले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ। आगामी एक वर्ष भित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रम बनाएर कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरको गतिविधिको प्रगति विवरण ६÷६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो । साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाऊँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुन्छ। यो अभियानमा कम्तीमा पाँच लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ ।’’

पार्टीका सबै दस्ताबेज डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उहाँको प्रस्ताव छ । यसको निम्ति काम भइरहेको महामन्त्री थापाले उल्लेख गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.