सत्ता गठबन्धनको ठहर- प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन, एमालेको कदम असंसदीय

0

काठमाडौं : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले राजीनामा माग्ने प्रतिपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए । उनले बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए ।

‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहेनत गरेको र दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो । बैठक अवरुद्ध भएसँगै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको थियो । यस विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।

उपाध्यक्ष पाण्डेले मिटरब्याजसम्बन्धी विधेयकलाई अब चाँडै संसदबाट अघि बढाएर कार्यान्वयन गर्ने बताए ।

बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.