हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री

0

पोखरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा राख्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौँ भने यसको फाइदा सङ्घीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौं, जनताले त्यति नै मात्रामा सङ्घीयताबाट लाभ लिन सक्छन् । सङ्घीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ । हाम्रो जोड त्यता हुन जरूरी छ ।’’

प्रधानमन्त्रीले धेरै लामो सङ्घर्ष र पहलपछि देश सङ्घीय गणतन्त्रमा आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘‘यो कुनै भावावेशमा गरिएको निर्णय होइन, सुविचारित निष्कर्षका कारण नै हामी अहिले सङ्घीय प्रणालीमा छौँ। यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै हो, त्यसमा नचुकौँ ।’’

प्रधानमन्त्रीले भन्नुभयो, “कतिपय शक्तिहरू यस (सङ्घीय गणतन्त्र) लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।’’

“राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्दैनन् । लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्दछन् । यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी छ ।’’ उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.