दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री

0

पोखरा \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा आफूले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प नभएको बताउनुभएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्त्वपूर्ण कामहरू भएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई सङ्गठित अपराध गर्ने प्रकरणका अभियुक्तहरूमाथि कारबाही अगाडि बढाइएको छ, ललिता निवास प्रकरणको फाइल फेरि खोलिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिका निम्ति सरकारले गरेको भरमग्दुर प्रयासबाट आम जनतामा आशाको नयाँ रक्तसञ्चार पैदा भएको छ ।’’

प्रधानमन्त्रीले थप्दै भन्नुभयो, ‘‘समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक सुधार आएको छ। रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, बैङ्कको ब्याजदर घटाई व्यवसायमैत्री वातावरण निर्माण गरिएको छ, लघुवित्त र सहकारीका समस्या दीर्घकालका लागि सम्बोधन गर्न पहल लिइएको छ, विदेशी मुद्राको सञ्चितिमा गुणात्मक वृद्धि भएको छ । निकै चुनौतीपूर्ण परिस्थितिमा गठन भएको वर्तमान सरकारले लिएको पहलकदमीका कारण देशको अर्थतन्त्र लयमा फर्किएको छ ।’’

सरकार उपलब्धिबारे चर्चा गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ जानकारी दिनुभयो । साथै यसबाट लाखौँ नेपाली कामदार, श्रमिकहरू लाभान्वित भएको प्रधानमन्त्रीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.