एनआरएनए युकेमा  २७३ जनाको सदस्यता स्वीकृत हुन बाँकी

0

​​​​​​​लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदैछ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा उक्त अवधिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको सदस्यता प्रमाणीकरण समितिका संयोजक तथा प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवि ढकालले जानकारी दिए । नयाँ आवेदन दिएकाहरुमध्ये अब  २७३ जनाको निवेदन स्वीकृत हुन बाँकी रहेको छ । सदस्यता शुल्क प्राप्त भै नसकेका आवेदकहरुको निवेदन स्वीकृत हुन बाँकी रहेको पनि संयोजक ढकालले जानकारी दिए । सोमबार साँझ ५ बजेभित्र स्वीकृत नभएका तर एपमा दर्ता भएका सदस्यहरुलाई समय दिइएको छ । सो अवधिमा पनि आवेदकहरुले कुनै प्रक्रिया अगाडि नबढाए ती आवेदन रद्द हुने पनि ढकालले बताए ।  निर्वाचन समितिले आइतबार सदस्यहरुको प्रारम्भिक नामावली प्रकाशन गर्ने छ भने सोमबार अन्तिम नामावली प्रकाशन हुने छ ।

उम्मेद्वारी दर्ता १ जुलाई दिउसो ३ बजे सम्म, २ जुलाई दिउसो १ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन (एनआरएनए यूके वेवसाइटमार्फत), २ जुलाई सांझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई सांझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।

निर्वाचन समितिका अनुसार २२ जुलाई बिहान ००।०० देखि २२ जुलाई सांझ ६ बजेसम्म स्मार्ट एनआरएन एपमार्फत अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।

मतदानको भोलिपल्ट २३ जुलाई दिउसो एक बजे परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त ढकालले जानकारी दिए ।

ढकालको संयोजकत्वमा रहेको निर्वाचन समिति सदस्यमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम पत्रकार बिपिन निरौला रहेका छन् ।

अध्यक्ष खड्काले दिए धन्यवाद

यसैबीच, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्काले सदस्यता आवदेन दिएकाहरुलाई धन्यवाद दिएका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा ठूला चुनौतीहरु रहेको र अहिले धेरै हदसम्म आफूहरु सफल भएको बताएका छन् । ‘चुनौती नै चुनौतीका बीच एनआरएनए यूकेको निर्वाचन होला की नहोला भन्ने धेरैलाई लागेको थियो । मूल धमिलाउनेहरु डिलमा बसेर रमिता हेर्दै थिए । हिलो छ्याप्ने काम भैरहेको थियो तर समाजले दिएको जिम्मेवारी पुरा गर्छु भनेर निर्भिक भएर लागेको थिए । कार्यसमितिको सहयोग र बेलायतस्थित नेपाली समुदायले दिएको मायाममताले कोमामा रहेको गैरआवासीय नेपाली संघ यूकेको पुनर्जन्म भएको छ । आगामी जुलाई महिनामा हुने निर्वाचनको लागि चार हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् ।

संस्थामा पहिलो पटक लागू भएको फेस भेरिफिकेशन सिस्टम सफल भएको छ । संघले शुरु गरेको स्मार्ट एनआरएनए अन्तर्गतको एमआईएस सिस्टम सफल भएको छ जसले गर्दा संघको नेतृत्व सर्वसाधारणको पहुँचसम्म पुगेको छ । हाम्रा व्यक्तिगत विवरणहरु यसअघि कसैको घरघरमा हुन्थे तर यस पटक देखि सुरक्षित रुपमा अन्तरराष्ट्रीय मापदण्ड अनुरुप डेटा समेत सुरक्षित गरिएको छ । जुलाई महिनामा हुने निर्वाचनले संस्थाको पुननिर्माणलाई थप गति दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

यसैगरी अध्यक्ष खड्काले कठिन अवस्थामा पनि सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आफूहरुले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्र नबिर्सिएको पनि प्रष्ट पारेका छन् । नागरिकता ऐन कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै एनआरएन नागरिकताले सम्पतिको अधिकारलाई सुरक्षित गरेको र बंशजको नागरिकता पुनः प्राप्तिको  लागि र हाम्रा सन्ततिलाई नेपालसँग सदाबहार जोडि राख्नको लागि  एनआरएनए अभियानको थप आवश्यकता छ भन्दै उनले यो अभियानमा सरिक बन्न पनि  आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.