सामाजिक रूपान्तरणका लागि नवीन सोच अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाको निम्ति सामाजिक रूपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो।’’

उहाँले हरदम आफ्नो विचार, सोच र शैलीलाई सिर्जनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वको आफूले सधैँ उच्च मूल्याङ्कन गर्ने गरेको बताउनुभयो। ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो। मानव र अरू प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अहिले २१ औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनुपर्दछ। मलाई विश्वास छ, तपाईँहरूले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सिर्जनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यसको लागि आफैँभित्र सबैभन्दा पहिला सुशासनको सुरुवात गर्नुपर्दछ।’

उहाँले नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले स्थायी सरकारको रूपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रूपले प्रभावित हुने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.