लन्डन – अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा मनोनयन गरेको छ। कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्सा शास्त्र, मानविकी, समाज शास्त्र, कानून जस्ता विधामा उत्कृष्ट योगदान दिने विद्वानहरुलाई प्रदान गरिने उक्त फेलोसिप अक्सफोर्डका कलेजहरुले दिने सबैभन्दा ठूलो सम्मान हो। सो कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई उच्च सम्मान गर्दै उक्त मनोनयन गरिएको बताए।
विश्व प्रसिद्ध लेखिका जे के राउलिंग, ब्रिटिश लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा जोन कुफ़ोउर, नेल्सन मण्डेला र डेसमोंड टुटुका वकिल सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, सर डेविड वारेन जस्ता मूर्धन्य व्यक्तित्वहरु अक्सफोर्डको उक्त कलेजका मानार्थ फेलो छन्। यस्ता प्रसिद्ध व्यक्तित्वहरुका माझमा आफुलाई पनि मानार्थ फेलो नियुक्त गरिएकोमा आफु हर्षित र गौरवान्वित भएको प्रा सुवेदीले बताए।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि प्राप्त गरेका प्रा सुवेदीको नाममा तिन वर्ष अघि उक्त विश्वविद्यालयले एउटा वार्षिक पुरष्कार स्थापना गरेको थियो। उनले अन्तर्राष्ट्रिय कानूनका प्राय: सबै आयामहरुमा १२ वटा ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेखहरु संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् । उनले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता उच्च उपाधि प्राप्त गरेका छन् ।
भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई सल्लाह दिंदै आएका छन् । उनले सन् १९८९ को भारतीय नाकाबन्दीको समय राजा वीरेन्द्र र परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानूनी सल्लाहकार भएर, नेपालको नयां नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा प्रा. सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन् । त्यसैगरि सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले दिएको अन्तर्राष्ट्रिय कानूनी सल्लाहले महत्वपूर्ण भूमिका खेलेको थियो ।
हालै मात्र उनले नेपाल सरकार विरूद्धको एनसेल/ आजियटाको मुद्दामा अन्तर्राष्ट्रिय प्राधिकरणमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व र प्रतिरक्षा गरेका थिए। नेपालमा द्वीपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको र कर लगाएको भन्दै एनसेल र आजियटा ग्रुपले अन्तर्राष्ट्रिय प्राधिकरणमा दायर गरेको मुद्दामा हालै नेपालले जित हासिल गरेको छ। मुद्दाको सुनुवाईको क्रममा हेगमा आफैं उपस्थित भै प्रा सुवेदीले बहस गरी नेपालको पक्षमा मुद्दा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।