सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्क विहीन

0

सङ्खुवासभा \  जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिनुभयो । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिनुभयो ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

ताप्लेजुङमा एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।

यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.