कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा

0

काठमाडौं \ सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रस्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रवार सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो ।

उहाँले बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नु नहुने पार्टीको आधिकारिक धारणा रहेको बताउनु भयो । छरिएर रहेका निर्वाचन कानूनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि काँग्रेस छिटो भन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको बताउनु भयो । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखेपनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताउनु भयो ।

सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्नेकुरामा काँग्रेस तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दलको लेखा र लेखा परीक्षण गर्ने कुरामा पनि काँग्रेसको सहमति रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.