पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

0

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

 

कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको जवाफ मागेको थियो ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । गृहमन्त्री श्रेष्ठले अराजक र कानुनविपरितका गतिविधिलाई छुट दिन नसकिने प्रष्ट पारे ।

कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीको भनाइ थियो ।

उनले  संविधान र कानूनलाई हातमा लिने,अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चूनौति उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए ।

गृहमन्त्री श्रेष्ठले इलाममा कोशीका पूर्वमन्त्री रामरान मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुंगामुढा राखेर अवरोध गर्न खोजिएको देखिएपनि कालोमोसो दलिएको वा अरु केही गरिएको प्रचार सत्य नभएको बताए ।

त्यसअघि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रदेश एकको नाम कोशी प्रदेश राखिएपछि पहिचानवादी भनिएकाहरुले पार्टीका नेता र सांसदहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।

एमाले अध्यक्ष ओली, उपाध्यक्षेम्बाङ, राम राना लगायतलाई आन्दोलनकारीले मार्न खोजेको भन्दै सरकारको जवाफ मागेका हुन् । एमाले कार्यकर्तालाई एम्बुस थापेर समेत मार्न खोजिएको सचिव भट्टराईको भनाइ छ ।

सचिव भट्टराईले प्रदेश सभाका ९३ मध्ये ८४ जनाले राखेको कोशी नाम दुईतिहाइ ल्याएर बदल्न पनि चुनौती दिए । कोशी प्रदेशमा आन्दोलनकारीले प्रहरीमाथि ज्यादती गरेको समेत उनले बताए । पहिचानवादीको उग्र गतिविधिबारे सरकार रमिते बनेको नेता भट्टराईको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.