माओवादीद्वारा कोशीमा एमाले सरकारलाई दिएको समर्थन फिर्ता

0

काठमाडौं \ नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादीको तयारी छ ।

यसअघि जेठ १६ गते जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादीको १३ (सभामुखसहित) र जसपाको १ सांसदले समर्थन फिर्ता लिनेबित्तिकै मुख्य मन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार बनाउनका लागि ४७ जना सांसद चाहिन्छ ।

प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ ।

Leave A Reply

Your email address will not be published.