काठमाडौं : सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
साथै सरकारले प्रत्येक पालिकामा एक शीत भण्डार बनाउने योजना अघि सारेको छ ।
एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउन जोड दिइने, उपयोगमा नआएका बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गरिने र कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दीलाई प्रोत्साहित गरिने राष्ट्रपति पौडेलले बताए ।