नेपालको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि आह्वान

0

​​​​​​​लन्डन – ब्रिटिश व्यवसायी तथा नेपाली अधिकारीहरुले नेपालमा सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् ।

नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसंख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए।  नेपाललाई सूचना प्रविधिको ‘हब’ को रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञहरु, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गर्न खोजी रहेको उनले बताए।  उनले ब्रिटिश कम्पनीहरुलाई नेपाली कम्पनीहरुसंग मिलेर काम गर्न र नेपालमा लगानी गर्न आग्रह पनि गरे ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले गएको एक दशक भित्रै सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउंदै कानूनी तथा भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकारले काम गरिरहेको बताए ।  उनले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्न तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रुपमा उपलब्ध गराउन नेपाल सरकारले वि सं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको बताए । सरकारले देशका विभिन्न क्षेत्रमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना बनाएको जनाउँदै सहसचिव दत्तले सूचना प्रविधिको विकासका लागि नीति नियम परिमार्जन गर्न पनि सरकार तयार रहेको बताए ।

नेपालमा लगानी प्रवर्द्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफुहरुले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताए।  उनले नेपाली युवाहरु दक्ष, मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत  र स्वास्थ्य क्षेत्र पछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताए।  

ब्रिटिश कम्पनी, एमबीआइ एमबीओ लिमिटेड, का अध्यक्ष तथा प्रमुख कार्यकारी ब्रायन डफीले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउंदै नेपालीहरुको इमान्दारिता र मेहनत गर्ने प्रवृत्तिबाट आफु प्रभावित भएको बताए।  उनले सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिन नेपाल सरकारलाई आग्रह पनि गरे। 

बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुशनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयाल, ले नेपालका विश्वविद्यालय तथा कलेजहरुबाट वर्षेनी झन्डै ७०,००० युवाहरुले विज्ञान, प्रविधि, इञ्जिनियरिङ्ग तथा गणित सम्बद्ध विषयहरुमा स्नातक गरिरहेको बताए ।  उनले नेपालीहरुले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीहरुको लागि काम गरिरहेको बताउंदै नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न नेपाल सरकारलाई  नीति तथा योजना ल्याएर  काम गर्न सुझाव दिए ।  नेपालमा हालै एडब्लुएस, माइक्रोसफ्ट र गुगल एकेडेमीहरु स्थापना गरिएको कारणले पनि विश्व प्रतिस्पर्द्धामा नेपालले विशेष फाइदा लिन सक्छ।  यी एकेडेमीहरुले गर्दा कुनै पनि युवाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त  प्रमाणपत्र प्राप्त गर्न सक्छन र यी प्रविधि प्ल्याटफर्महरुमा आफ्नो विज्ञता विकास गर्न सक्छन्। नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न सकिने उच्च सम्भावनालाई व्यवहारमा उतार्न नेपाल सरकारले ‘क्लाउड फर्स्ट’ नीति अपनाउनु पर्छ, वैदेशिक लगानीका लागि न्यूनतम सीमा  घटाउनु पर्छ, सूचना प्रविधि शिक्षालाई प्रवर्द्धन गर्नुपर्छ र नेपालमा आएर काम गर्न चाहने दक्ष विदेशी जनशक्तिका लागि सरल भिसा प्रणाली  अपनाउनु पर्छ,” फुयालले भने ।

कार्यक्रमको संचालन लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए  भने दूतावासकी उप नियोग प्रमुख रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.