गैर आबासीय नेपाली संघको बिबाद समाधान गरी एघारौ महाधिबेशनलाई एकताको महाधिबेशन गर्ने गरी सहमति हुँदै,

0

मतदाता बिबादका कारण निर्वाचन पद्धती मार्फत नेत्रित्व चयन गर्न नसकेर बिभाजन भएको गैर आबासीय नेपाली संघको बिबाद समाधान भएर एकताको अधिबेशन हुने भएकोछ । एघारौ माहधिबेशनलाई एकताको अधिबेशन बनाउने गरी थालिएको प्रयास अन्तिम चरणमा पुगेकोछ ।

सदस्यताको निर्क्योल हुन नसक्दा कुमार पन्त नेत्रित्वको कार्यसमितिले निर्वाचन सम्पन गर्न नसके पछि एका तिर ३ जना अध्यक्ष बनाएर छ/छ महिनाको पालो तोकिएको थियो भने, पूर्व अध्यक्ष शेस घलेले छुट्टै समुह बनाएर बिनोद कुँवरको नेत्रित्वमा समिती घोषणा गरेका थिए ।

नेपाल सरकार र धेरै एनसीसीहरुको समर्थन तीन अध्यक्ष वाला समितिलाई भए पनि कुँवरको समितिले पनि एनआरएनका नाममा गतिबिधी गर्दै आएको थियो ।

एनआरएनए नेत्रित्वको अकर्मण्यता र केहि दलाल माफियाहरुले संगठनका नाममा गर्ने असामाजिक गतिबिधिले वाक्क भएका सर्बसाधारण एनआरएनहरुले भने संगठन प्रति वास्ता गर्न छोडेका थिए ।

एनआरएनएको बीस बर्षे जीबनमा पछिल्लो कार्यकाल नैरास्यतामा बिते पनि आगामी दिन सुखद हुने आशा गर्न थालिएकोछ । संगठनमा भएका बिमतिलाई सम्बोधन गरेर एकताको अधिबेशन गर्न र आगामी दिनमा डायसपोरा र मातृभूमीका लागि सामाजिक र परोपकारी अभियानलाई अघि बढाउन नयाँ सोचले काम गर्ने गरी प्रयास थालिएकोछ ।

बद्री केसी, रबिना थापा र कुल आचार्यको समिती एबम बिनोद कुँवरको समितिले बार्ता गर्न बनाएका उपसमितिले सहमतिका लागि आ-आफ्ना सर्तहरु अगाडि सारेर छुट्टाछुट्टै बिज्ञप्ती सार्वजनिक गरेकाछन ।

दुबै पक्षका बिज्ञप्तिका भाषाहरु संस्थागत हितका लागि भए पनि एक दुई कुराहरु मिल्न बाँकी भएको र त्यसमा पनि आगामी हप्ता सम्म सहमति हुने एकजना सहमतिकर्ता एबम केसी पक्षीय एनआरएनएका सचिब गंगाधर गौतमले जनाएकाछन ।

बद्रि केसी अध्यक्ष रहेको समितिले सार्वजनिक गरेको सहमति पत्र र कुँवरको समितिले सार्वजनिक गरेको सर्त सहितको बिज्ञप्ती……

( उपाध्यक्ष डिबी क्षेत्री संयोजक र सचिब गंगाधर गौतम सदस्य सचिब रहेको समितिले सार्वजनिक गरेको सहमति पत्रको खाका )

गैरआवासीय नेपाली संघमा बृहत् एकताका लागि सहमति पत्र

प्रस्तावना:

“नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्र लिएर आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध नेपालको सपना सहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनको तयारी सुरु भइसकेको छ । संघले एनसीसी (NCC ) अधिवेशनका लागि सदस्यता वितरण सुरु भइरहेको छ। गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुननसकेको यथार्थलाई दुबै पक्षले स्वीकार गर्दै आगामी ११औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्दै बृहत संजाल, एकता र सद्भावलाई कायम राख्नको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन ।

एकातिर सन् २०१५ मा नेपालको नयाँ संविधान जारी भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुन सकेको छैन भने अर्कोतिर प्रवासी नेपाली कामदारहरूका लागि सुरक्षित तथा मर्यादित रोजगार, रु दस अर्बको सामूहिक लगानी कोष जस्ता योजनाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने छ। नेपाली डायस्पोराका एनआरएन साथीहरू सबैको एकमात्र ध्येय संस्थालाइ कसरी मजबुत, एकजुट तथा देशकै एक गतिशिल तथा सरकारको एक भरोसाको केन्द्र बनाउने भन्ने चिन्तन र चासो सर्बत्र पाइन्छ । कतिपय क्षमता भएका अभियन्ताहरू संघमा अहिले देखिएको विग्रहको कारण चाहेर पनि समाहित हुन सकेका छैनन् । यसले संघको हाल भइरहेको साख समेत कम भइ संघको भबिष्यनै अंध्यारोतर्फ नजाला भन्न सकिंदैन । एनआरएनएलाई सबैको साझा संस्था बनाउनका लागि सवै पक्षलाई समेटेर अघि बढ्नु एक मात्र विकल्प भएको सन्दर्भमा गैरआवासीय नेपाली संघमा आबद्ध सबै पक्षलाई समेटेर संघको मूल मर्म र उद्देश्यलाई कायम राखी अगाडी बढ्नु पर्ने दुईमत छैन् । यस परिस्थितिमा विश्वभरीका गैरआवासीय नेपालीलाई परेको असरलाई समाधान गर्न एकता महाधिवेशन अपरिहार्य बन्न पुगेको छ । गैरआवासीय नेपाली संघमा आबद्ध सबै पक्षलाई एकै सूत्रमा बांधी संस्थाको बृहत् एकता मजबुत बनाउनका लागि निम्न बुँदाहरु पालना गरी सहमति गर्ने प्रस्ताव गरिन्छ।

१/
संघको १०औ महाधिवेशन विविध कारणबस स्थापना कालदेखि आयोजना भए जस्तै सबैको सहमति एबम एकीकृत रुपमा सम्पन्न गर्न नसकिएकाले तत्कालीन अबस्था देखि इछुट्टाछुट्टै आफ्ना गतिविधि संचालन गरेका कारण आम बिश्व नेपाली डायस्पोरा र एनआरएनए अभियानमै व्यापक असन्तुष्टि देखा परेका कारण आगामी ११औ महाधिवेशन सबैको सहमतिमा आयोजना गर्नु अहिलेको आबस्यकता महसुस गर्दै बृहत् एकताको लागि सबै लचक भै हार्दिकता पुर्बक अगाडि बढ्ने।

२/
११औं महाधिवेशन आयोजनाका लागि उम्मेदवार नहुने दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने व्यबस्था गर्ने जस्ले निर्वाचन, सदस्यता,डेलिगेट्स लगायत सम्पूर्ण बिषयको अनुगमन गर्नेछ।

३/
११औं महाधिवेशन सप्पन्न गर्न आबस्यक निर्वाचन समिति दुवै पक्षका प्रतिनिधि रहने गरि गठन गर्ने ।

४/
अन्लाईन तथा भौतिक रूपमा सम्पन्न हुने गरि महाधिवेशन,निर्वाचन एब सदस्यता तथा प्रतिनिधि चयन सम्बन्धमा हालै परराष्ट्र मन्त्रालयबाट स्वीकृत भएको संघको संशोधित विधान २०२२ बमोजिम हुनेछ।
आबस्यक परे एक छुट्टै विशेष बिधान सम्मेलन मार्फत उक्त बिधानलाई सबैको अपन्त्व हुने गरि अनुमोदन गर्ने।

५/
संघको सदस्यता वितरण, प्रतिनिधि छनोट तथा निर्वाचन लगायतका विविध विषयमा विवाद आएमा त्यस्को समाधान गर्न एक न्यायिक आयोग गठन गर्ने।

६/
परराष्ट्र मन्त्रालय र अदालतमा हालेका उजुरी/मुद्दा सम्बन्धित पक्षले फिर्ता लिने ।

७/
दुवै पक्षबाट हासिल गरेका उपलब्धिहरुको अपनत्व ग्रहण गरी गैरआवासीय नेपालीहरूका हकहितका कार्यहरू अघि बढाउने ।

८/

गैर आबासीय नेपाली संघको ११औ महाधिवेशन एकताको महाधिवेशनका रूपमा सम्पन्न गरिएका सहमतिका सम्पुर्ण दस्तावेज नेपाल सरकार परराष्ट मन्त्रालयलाई सामुहिक रूपमा जानकारी गराउने ।

९/
सबै दस्तावेज तथा सहमतिको कार्यान्वयन गर्नका लागि विशेष साधारण सभा आयोजना गरि अनुमोदन गर्ने,

……………………………………………………………………………………………………………………………………….

गैरआवासीय नेपाली संघको एकताको ११ औं महाधिवेशनबारे विज्ञप्ति

गैरआवासीय नेपाली संघका सम्पूर्ण अग्रज तथा गैरआवासीय नेपालीहरुमा नमस्कार !

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष कुमार पन्तज्युको नेतृत्वले अक्टुवर २०२१ मा सम्पन्न गर्न सकेन। त्यसपछि संघको बिधान र नेपाल सरकारको एनआरएन ऐन समेतलाई टेकेर संघ दर्ता भएको आधिकारीक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयले संघका तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेज्युलाई संघको १० औं महाधिवेशन सम्पन्न गर्न पत्रचार गरी जिम्मेवारी दिएको थियो। 

सो जिम्मेवारीलाई तत्कालिन गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको ८१ औं बैठकले समेत पारित गरेको थियो। त्यहि अनुसारको जिम्मेवारीलाइ राष्ट्रिय समन्वय परिषदको भेलाले समेत अनुमोदन गरेर सोहि अनुसार गत बर्ष मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन आधिकारीक रुपमा सम्पन्न भएको थियो।

तर त्यस महाअधिवेशनलाई नमान्दै अन्तिम समयमा आएर महाधिवेशन छोडेर अन्यत्र गएर केही दिनपछि छुट्टै महाधिवेशन गर्ने साथीहरूबाट एकताको ११ औ महाधिवेशन संयुक्त गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो। हामी संघको उद्येश्य अनुरुप संघलाइ चुस्त, दुरूस्त, प्रकृया र पद्दतिमा चलाउनु पर्छ भन्ने अभियानमा पहिला पनि कटिबद्द थियौं र अहिले पनि छौं। 

तत् पश्चात हामीले संघभित्र आपसी रुपमा घनिभूत सर-सल्लाहा गरी केहि निर्णयहरू पनि गरेका छौ। केहि पटक अनौपचारिक रुपमा भेटघाट हुँदा हाम्रो तर्फबाट १० औं महाधिबेशन समयमा हुन नसक्नुका कारण, बिध्यमान बिबादको मूलजडलाइ सुधार्नुपर्ने लगायतका बिषयहरूको उठान गरी ती सबै बिषयहरूको सम्बोधन गरेर मात्र एकताको महाधिबेशन गर्न सकिने कुरा मौखिक रुपमा जानकारी गराएका थियौ। 

तर आगामी दिनहरुमा फेरी पनि त्यस्ता खाले समस्याहरू नहोस भनी ब्यापक छलफलबाट बिधान संसोधन गरी ति बिषयहरूको संबोधन हुनुपर्ने कुरा हाम्रो आधारभूत जोड थियो र छ। तत् अनुसार नै हामीले गत मार्च २०२२ को १० औं महाधिवेशनबाट बिधानमा नै संसोधन गरेका थियौ, सोहि अनुसारका बिषयहरूको संबोधन गर्दै १० औं महाधिवेशनबाट अन्यत्र गएका बाँकी साथीहरूलाई पनि ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा हाम्रो मुलधारमा ल्याउनको लागि हामी बिचमा मौखित सम्बादहरू गरेका थियौं।

एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी बिस्वस्त छौं। आजको आबश्यकता नै एकता हो भन्ने कुरामा पनि जानकार छौं। तसर्थ बिध्यमान् मूल जड् लाई सुधार गरेर जाने सहमति भएमा हामी एकताको बिरोधि होईनौ। संघको बृहत्तर विकासको बाधक पनि हामी होइनौं,तर सँस्था स्वस्थ र चुस्त रूपमा जानुपर्छ भन्ने पक्षमा चाहिं पहिले पनि थियौं र अहिले पनि छौं। नेपथ्यमा जे सुकै कुरा भएता पनि त्यसको कुनै आधिकारिकता हुँदैन। हामी एकताको ११ औं महाधिवेशन गर्ने कुराको विपक्षमा छैनौं तर आधारभूत कुरा छोडेर संझौता गर्नेपक्षमा पनि छौनौं। 

तर पनि संघको यस्तो विभाजित अवस्था आउनुका कारणहरु समेत पहिचान गरि संघको १० औ महाधिवेशनबाट हामीले संसोधन सहित पारित गरेको बिधान समेतलाइ मानेर आगामी दिनमा संघमा फेरी सोहि पुरानो विकृतीको अवस्था नदोहोरीयोस भन्नका लागि हाम्रो तर्फबाट निम्न बिषयहरू अबलम्बन गरी हामी बिचमा आम सहमतिका साथ निर्णयगरी एकताको ११ औं महाधिबेशन निस्पक्ष र स्वस्थ्य रूपमा गर्न सकिने कुरा जानकारी गराउन चाहान्छौं।

११ औं महाधिवेशन एकताको महाधिबेशन भब्य र सब्य गराउनको लागि हामी बिचमा यि बिषयहरूमा निर्णय गरी कार्यान्वयन गर्ने समहमति हुन आबश्यक भएको जानकारी गराउदछौ।

१, हामीले होटल याक एण्ड यतिमा सम्पन्न गरेको १० औं महाधिबेशनमा ब्यापक छलफल पश्चात संसोधन सहित पारित गरिएको बिधानलाई मानेर जानुपर्ने। 

२, अक्टुवर २०२३ मा हुने एकताको ११ औं महाधिवेशन प्रतिनिधि हुनको लागि २०२३-२०२५ को लागी दुवै पक्षका नेतृत्वबाट सदस्यता नविकरण गरेका सबै पंजीकृत सदस्यहरुले खुलेको फर्म भरेर, तोकिएको शुल्क तिरेर महाधिवेशन प्रतिनिधि हुन् पाउने छन्। एकताको रुपमा सम्पन्न भएका राष्ट्रिय स्तरका महाधिवेशनबाट चयन भएका नयाँ नेतृवले ती प्रतिनिधिहरुको सदस्यता नवीकरण हो या नयाँ त्यो भेरिफाइ गर्ने छन।

३. आगामी अक्टुवर २०२३ मा काठमाण्डौमा हुने एकताको ११ औं महाधिवेशनको लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु भौतिक रुपमा नेपालमा उपस्थित हुनुपर्ने। 

४, प्रबिधिको बिरोध गरिएको होइन तर बिध्यमान विवादको मूल जड नै महाधिवेशन प्रतिनिधि, निर्वाचन प्रणाली र नेतृत्व चयन भएकाले सोहि पुरानो प्रणालीमा जाँदा आपसी विश्वासमा संकट हुने भएकाले आसन्न ११ औं महाधिवेशनबाट चयन गरिने नेतृत्व अनलाइन भोटबाट नगर्ने। भौतिक रुपमा उपस्थित हुने महाधिवेशन प्रतिनिधिहरुले मात्र मत दिन या भोट गर्न पाउने छन्।

५, गैरआवसीय नेपाली संघका दुवै पक्षबाट तयार गरिएका, पारित भएका सम्पूर्ण नियमावलीहरु खारेज गर्ने। तत्काल आवश्यक पर्ने नियम, नियमावली सर्बसहमतिबाट तयार गर्ने।

६, दुवै तर्फका १० औं अन्तराष्ट्रिय महाअधिवेशनहरुको अस्थित्वलाइ दुवै पक्षले समान रुपमा स्वीकार्ने। त्यसबाट चयन भएका दुवै पक्षका नेतृत्व, बाँकी पदमा गरिएका नियुक्तिहरु, अन्तराष्ट्रिय देखि संघका हरेक तह, देशसम्म सबैलाई सम्मान जनक रुपमा मान्यता दिने।

७, संघको दुवै पक्षबाट एकताको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व भरिका दुवै पक्षमा रहेका राष्ट्रिय स्तरका परिषदहरुको एकताको महाधिवेशन आयोजना गर्न र गराउनको लागि अग्रज तथा आगामी नेतृत्वमा उमेरद्वार नहुने ब्याक्तिहरू तर वर्तमान समयमा पंजीकृत सदस्य रहेका मध्येबाट एक उच्च स्तरिय समिती बनाउने। समितीमा दुवै पक्षबाट समान संख्याबाट हुनेगरी नाम प्रस्ताव गरिने।

८, दुवै पक्षको समान संख्यामा प्रतिनिधि हुनेगरी संयुक्त रुपमा ११ औं महाधिवेशन आयोजक/तयारी समिती बनाउने। सो समितीको संयोजकमा कुनै पक्षका पनि अध्यक्षले नेतृत्व नगर्ने। तर पूर्व अध्यक्ष, उपाध्यक्ष पदाधिकारी लगायतहरुको नेतृत्वमा गठन गर्ने। 

९, आवश्यक पर्ने बाँकी सबै समितीहरु जोर संख्यामा बनाउने। ति सबै समितीका संयोजकहरु दुवै पक्षका आधा-आधा (बराबरी) संख्यामा रहने। तर सबै समितीहरुमा सदस्यहरु भने दुवै पक्षबाट समान संख्यामा रहने। जस्तै प्रतिनिधि चयन, बिधान, निर्वाचन, प्रचार-प्रसार, उच्च स्तरिय निर्वाचन पर्यवेक्षण समिति इत्यादी।

१०, दुवै पक्षका नेतृत्वले समान रुपमा बराबरी अधिकार रहनेगरी काम गर्ने। ती दुवै नेतृत्वलाइ एकताको ११ औं महाधिवेशन बन्दसत्रको पहिलो सेशनमा लगेर बिघटन गर्ने। त्यसपछि २०२१-२०२३ अबधिको दुवै पक्षका नेतृत्व निवर्तमान हुनेछन्।

११, दुवै पक्षबाट भएका र गरिएका कार्यकारी सचिवालय, पदाधिकारी, अन्तराष्ट्रिय परिषद सदस्य, अन्तराष्ट्रिय परिषदमा मानार्थ सदस्य, सल्लाहकार तथा समितिहरु लगायत सबैखाले नियुक्तिहरु मान्य हुने।

१२, सबै देशका एनआरएनएमा आबद्ध तथा साझेदार संस्था (निकाय,एनसीसी) हरुमा पनि माथि उल्लेखित गरे जस्तै संयुक्त रुपमा समान संख्यामा हुनेगरी महाधिवेशन गर्न गराउन तयारी समिति गठन गर्दै जान निर्देशन गर्ने।

कार्यदल

१. संयोजक-महासचिव जानकी गुरुङ

२. सदस्य-उपाध्यक्ष सुरेन्द्र सिग्देल

३. सदस्य-सचिव कृष्ण के सी

४. सदस्य-प्रवक्ता प्रकाश धमला

५. सदस्य-सल्लाहकार- धरम के सी 

तत्काल संघका सम्पूर्ण गतिबिधिहरु नियमित रुपमा संचालन हुनेछन। उपरोक्त एकताको ११ औं महाधिवेशनको बिषयहरुलाइ मे ५, २०२३ सम्ममा निष्कर्षमा पुग्नुपर्ने निर्णय गरिएको छ।

धन्यवाद;

महासचिव 

जानकरी गुरुङ 

गैरआवासीय नेपाली संघ 

अध्यक्ष 

बिनोद कुँवर 

गैरआवासीय नेपाली संघ 

मिति: अप्रिल १६, २०२३

Leave A Reply

Your email address will not be published.