आविष्कार केन्द्रलाई एनआरएनएको सहयोग

0

गैरआवासीय नेपाली संघ एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख बराबरको सहयोग सामग्री विहीबार हस्तान्तरण गरेको छ । 


एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सामाजिक साझेदारीको अवधारणाअन्तर्गत सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।


हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनःस्थापनाका लागि प्रयोग गरिनेछ । 


सो अवसरमा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वद्र्धनका लागि पुर्‍याएको योगदानको प्रशंसा गरेकी छिन् ।

एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याइरहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।  

संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकाप्रति खुसी व्यक्त गरे । संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम् विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । 
समुदायको हितका लागि खरिद गरिएका सामग्री समुदायलाई नै हस्तान्तरण गर्ने मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरिएको संघले  जनाएको छ ।   

Leave A Reply

Your email address will not be published.