पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, २ जनाको अवस्था अझै अज्ञात

0

काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको छ । ती मध्ये ४४ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

चालक दलका सदस्यहरु, विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरु पहिचान परीक्षणको लागि आज काठमाडौं ल्याउने तयारी गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव मात्रै काठमाडौं पठाउन लागिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं ल्याइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखराबाटै आफन्तलाई बुझाइने भएको छ ।

हालसम्म फेला परेका ७० शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

Leave A Reply

Your email address will not be published.