संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने

0

काठमाडौं : संघीय संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने भएको छ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ ।

बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ ।

सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

एक भन्दा बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ ।

त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

२५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.