सन्दीप लामिछाने आज रिहा हुँदै

0

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । 

उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिए । 

“२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । शुक्रबार हामी धरौटी राखेर निकाल्छौँ,” उनले भने । 

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ । 

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो । 

लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.