संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

0

काठमाडौं : संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

गत मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो ।

निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो ।

पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुबै सदनको बैठक प्रारम्भ हुनेछ ।

अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन् । बैठकका अन्य कार्यसूची यसअघि नै टुंगो लागिसकेका छन् ।

अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् । पहिलो बैठकमा अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ ।

यस्तै प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनबारेको पत्र पनि संसद्मा जानकारी गराइनेछ । साथै शोक प्रस्तावको समेत कार्यसूची रहनेछ ।

संविधान सभा सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले तथा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुनेछ ।

अधिवेशनमा मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिएपछि सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।

संवैधानिक व्यवस्थाअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन हुनुपर्नेछ ।

सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।

अधिवेशन प्रारम्भमा राष्ट्रिय सभामा पनि अधिवेशन आह्वानको पत्र, प्रधानमन्त्री चयनको पत्रको बेहोराबारे जानकारी गराइनेछ ।

Leave A Reply

Your email address will not be published.