डेढ वर्षअघि उद्घाटन भएको धरहराको पुनर्निर्माण कार्य रोकियो

0

काठमाडौं : डेढ वर्षअघि उदघाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ ।

पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो ।

धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको महानगरले जनाएको छ ।

दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी चार वर्षअघि शिलान्यास गरिएको धरहरा पुनर्निर्माणका लागि चार पटक म्याद थप भइसकेको छ भने पाँचौँ पटक म्याद थपको तयारी भइरहेको छ । चौथो पटक थप गरिएको म्याद यही पुस मसान्तभित्र सकिँदैछ ।

२०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी रमन कन्स्ट्रक्सनबीच २०७५ सालमा सम्झौता भएको थियो ।

धरहरा स्तम्भ निर्माणसम्बन्धी काम अझै पाँच प्रतिशत र धरहरा क्षेत्रको काम अझै २२ प्रतिशत बाँकी रहेको छ ।

सम्पूर्ण काम नसकिँदै गत २०७८ साल वैशाखमा धरहराको तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.