प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दै

0

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ । शपथअघि ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् ।

कुल सदस्यमध्ये मातृभाषामा शपथ लिन २६ जना सांसदले निवेदन दिएका छन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन नभएको वा दुबै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै शुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार प्रतिनिधिसभाको यो दोस्रो कार्यकाल हो ।

प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.