झापामा दम्पतीको शव फेला

0

झापाः झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।

लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।

सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । ‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो’, उनले भने, ‘शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।’ घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए ।

Leave A Reply

Your email address will not be published.