कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने

0

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाविच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार बिहान हुने मतदानबाट कांग्रेस देउवा र थापामध्ये एक संसदीय दलको नेता र पार्टीको भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन् ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का छन् भने थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।

मनोनयन दर्तापछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारसँग कुरा गर्दै संस्थापन निकट नेताहरुले असहज परिस्थितीमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवा नै संसदीय दलको नेता बन्नुपर्ने दाबी गरेका छन् ।

शुरुवाती चरणमा इतर समूहबाट महामन्त्री थापाका अलवा डा. शेखर कोइराला पनि उम्मेद्वार बन्ने दौडमा थिए । तर अन्तिम समयमा थापा इतर समूहबाट साझा उम्मेद्वार बन्न सफल भएका छन् ।

उम्मेदवारी दर्तापछि महामन्त्री थापाले संसदीय दलको नेताको चुनाव काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको भन्दै उम्मेद्वारी फिर्ता दिन सभापति देउवालाई आग्रह गरे ।

त्यस्तै शेखर कोइरालाले स्थायित्व र रुपान्तरणका लागि आफुले गगन थापालाई समर्थन गरेको बताए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई रुपान्तरणको दिशा लैजानुपर्ने बताए ।

कुनै समय देउवा निकट रहेका कांग्रेस महामन्त्री शर्मा संसदीय दलको निर्वाचनमा गगनको पक्षमा खुलेका छन् । त्यस्तै यसअघि सिटौला पक्षमा देखिएका युवा नेता प्रदीप पौडेल पनि थापाकै पक्षमा खुलेका छन् ।

कुनै समय संस्थापन इतर भनेर चिनिएका वरिष्ठ नेता पौडेल भने देउवाको पक्षमा देखिएका छन् ।

कांग्रेस संसदीय दलको नेताको लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका ८९ सांसदले भाग लिनेछन् ।

संसदीय दलको विधानअनुसार दलको नेतामा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न सभापति देउवा वा महामन्त्री थापाले ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.