सत्ता स्वार्थ !

0

काठमाडौं : नयाँ सरकार गठनको कसरत भइरहँदा जनता समाजवादी पार्टी (जसपा)ले अकस्मात् रुपमा नेकपा एमालेसँगको चुनावी तालमेल सकिएको घोषणा गरेको छ । चुनावको मुखैमा सत्ता गठबन्धन तोडेर एमालेसँग तालमेल गर्न गएको जसपाले एमालेले सरकार बनाउने सम्भावना कम देखेपछि सहकार्य नै तोडिएको घोषणा गरेको हो । 

अर्थात, चुनावी परिणाम पूर्णत नआउँदै जसपाले एमालेसँगको तालमेल सकिएको भनी सत्तागठबन्धनसँग नजिकिने चाहना प्रकट गरेको छ । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । 

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ अध्यक्ष यादवले भने । 

तर, अध्यक्ष यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगि नसकेको बताए । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि उनको भनाइ छ । गत ४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए । आफू पराजित भए पनि उनी नेतृत्वको पार्टीले ७ सिट प्रत्यक्षतर्फ जितेको छ । समानुपातिक तर्फबाट जसपाले ५ सिट जित्न सक्ने आँकलन छ । १२ सिट लिएर सरकारमा जान सकिने र यसका लागि अवसर पर्खिँदै यादवले एमालेसँगको सहकार्य तोडिएको घोषणा गरेका हुन् ।

उसो त, स्वार्थ स्वार्थकै लागि माओवादी केन्द्रले सरकार गठनका लागि सबै बाटो खुला गरेको सन्देश प्रवाह गरेको छ । तर, यो सन्देश प्रवाह गर्दा माओवादी केन्द्रका नेताहरु विभाजित भएका छन् । 

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताउँछन् । उनी भन्छन्, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । तर, अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’ 

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । यही बेला महराको यस्तो भनाइ आएको हो । 

तर, उपाध्यक्ष महराको भनाइ महासचिव देव गुरुङले काटेका छन् । ‘उनी भन्छन्, ‘सरकार गठन, विकल्पका बारेमा केही कुरा भएकै छैन ।’ अर्थात, कतिपयले माओवादीले बार्गेनिङका लागि यस्तो दुई थरी कुरा गरेको आरोप लगाएका छन् ।

सरकार गठनको गृहकार्य र सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा दरारको आशंका कतिपयले गरिरहेका बेला सत्ता गठबन्धनको बैठक सोमबार बस्दैछ । सोमबार दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षाका साथसाथै सरकार गठन र पावर सेयरिङका विषयमा छलफल गर्ने मुख्य एजेण्डा छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ । चुनावमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि देखिएका बेला चुनावपछि गठबन्धनको पहिलो बैठक बस्न लागेको हो ।

चुनावी परिणामले कांग्रेसलाई सरकार बनाउने बाटो खुला गरिदिएको छ । तर, दोस्रो भएको नेकपा एमालेले पनि सरकार बनाउने प्रयास गरेको छ । यसका लागि माओवादी केन्द्र सहितका दलहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ । यही बेला माओवादीले पनि सरकार गठनका लागि सबै बाटो खुला गरेको सन्देश दिएको हो । 

बरु, यस पटकको चुनावबाट चौथो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सिके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुलाई मतदाताले अगाडि बढाउन चाहेको देखिन्छ । उनीहरुलाई लिएर पहिलो वा दोस्रो दलले सरकार बनाउन सक्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि बलियो रुपमा अगाडि आएको छ । चुनावबाट उदाएका र जनताले अगाडि बढाउन चाहेका दलहरुलाई साथमा लिएर पहिलो वा दोस्रो ठूलो दलले सरकार बनाउनुलाई प्राकृतिक रुपमा लिन सकिन्छ । 

Leave A Reply

Your email address will not be published.