एपीएफलाई पीएम कप क्रिकेटको उपाधि

0

काठमाडौं : पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले दोस्रो पटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको हो । विवादका कारण ढिला शुरु भएको खेल ४० ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दएको थियो । आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, आसिफ शेखले १४, लोकेश बमले ८ र कप्तान शरद भेषवाकरले अविजित १६ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखियाले २, सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।

त्यसअघि आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो । आर्मीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४९, जितेन्द्र मुखियाले २४, शुसन भारीले १९, अर्जुन साउदले १३, हरि चौहानले १५, कप्तान बिनोद भण्डारीले ११ र राजेश पुलामीले १८ रन बनाए । एपीएफका लागि अमर सिंह रौटेला र मौसम ढकालले समान ३/३ तथा किशोर महतोले २ विकेट लिए ।

उपाधिसँगै एपीएफले १० लाख र उपविजेता आर्मीले ५ लाख नगद पुरस्कार प्राप्त गर्‍यो । सेमिफाइनलबाट बाहिरिएका पुलिस र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गरे । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.