विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन

0

सुरुङ्गा (झापा), १ असोज । आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई तथा कतारमा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप – १ निवासी ३० वर्षीय भरतप्रसाद ओली र सोही ठाउँ निवासी ५४ वर्षीय जनकलाल तिवारीले गाउँमा नै दूध चिस्यान केन्द्र सञ्चाल गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ ।
उहाँहरुले राजगढ – ६ मा विगत सात वर्षदेखि कनकाई दूध डेरी उद्योग तथा चिस्यान केन्द्र सञ्चालन गरेर आम्दानीको राम्रो स्रोत जुटाउनुभएको छ । झन्डै रु चार लाख ५० हजारको लगानीमा सुरु गरेको उक्त व्यवसायबाट अहिले दैनिक खर्च कटाएर रु दुई हजारभन्दा माथि बचत गर्ने गरेको ओलीले बताउनुभयो ।
ओली वैदेशिक रोजगारीका लागि रु दुई प्रतिशतमा ब्याजदरमा ऋण खोजेर सन् २००३ मा रु ८० हजार खर्च गर्दै विदेश (दुबई) जानुभएको थियो । दुबईमा २८ महिना बस्दा पनि राम्रो कमाइ गर्न नसकेपछि नेपाल फर्किएको उहाँले बताउनुभयो ।
नेपाल फर्किए पनि ऋण तिर्न आफ्नै कुनै माध्यम नभएपछि पुनः सन् २००५ मा कतार गएको तर ११ महिना बित्न नपाउँदै घर फर्किएर गउँमा नै दूध सङ्कलन केन्द्रको सुरुवात गरेको ओलीले बताउनुभयो । राजगढमा सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रका कारण त्यस क्षेत्रका कृषकले दूध बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय कृषक पदमप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश कृषकले दूध बिक्रीका लागि नै उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेका छन् ।
सस्तो मूल्यमा भारतीयलाई दूध बेच्दै आएका किसानले अहिले उक्त चिस्यान केन्द्रमा उचित मूल्यमा दूध बेच्न थालेको अगुवा कृषक केशवप्रसाद बरालले बताउनुभयो । ग्रामीण क्षेत्रका कृषकलाई यही स्वरोजगारको वातावरण सिर्जना गर्न तथा यो व्यवसायलाई प्रोत्साहित गर्न गत वर्ष क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरले रु एक लाख अनुदान उपलब्ध गराएको हो ।
चिस्यान केन्द्र सञ्चालनमा आएपछि अहिले यहाँका किसानले बिहान बेलुका दुवै समयमा दूध बिक्री गरिरहेका छन् । विदेशमा गरेको दुःख सम्झिएर ओलीले भन्नुभयो – “हामीले यहाँ केही व्यवसाय सुरु गरेपछि त्यसले आफूलाई राम्रो गर्छ ।”
दक्ष नेपाली युवा विदेशिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “सुरुमा त मलाई पनि यहाँ कमाइ गर्न सकिँदैन जस्तो लागेको थियो तर अहिले ग्राहकको मागलाई पूरा गर्न नसक्ने अवस्था छ । केका लागि विदेश जानु प-यो ?” सीप नसिकी विदेश जानु भनेको जीवनलाई बन्धकी राख्नु जस्तै भएको उहाँको भनाइ छ ।
दैनिक तीन सय लिटर दूध सङ्कलन गर्दै आउनुभएका उहाँहरुले रीतिका डेरीलाई उक्त दूध बिक्री गर्नुहुन्छ । गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्यले सञ्चालन गरेको उक्त चिस्यान केन्द्रबाट अहिले दैनिक दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका डेरीका अर्का सञ्चालक तिवारीले बताउनुभयो ।
ठेक्कापट्टाको व्यवसाय गर्दा उपलब्धि नभएपछि विदेशसमेत जाने सोच बनाउनुभएका तिवारीले अहिले ओलीसँग मिलेर सुरु गरेको व्यवसायबाट उहाँ यही सन्तुष्ट हुनुहुन्छ । “मलाई मात्र होइन राजगढका धेरैले दूध बेचेर सहज जीवनयापन गरिरहेका छन्” उहाँले भन्नुभयो ।
ओली र तिवारीले सुरु गरेको यो व्यवसायको सिको गर्दै अहिले राजगढ बजारमा थप दूध डेरी सञ्चालनमा आएका छन् । कनकाई डेरी उद्योगले बिहान बेलुकै दूध सङ्कलन गर्न थालेपछि यहाँका कृषक थप पशुपालन व्यवसायमा उत्साहित भएका छन् । लगानी सुरक्षित हुने भन्दै राजगढका अधिकांश कृषकले पशुपालन गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.