मधेशी नेतासँग भारतीय विदेश सचिवको गोप्य भेट

0

काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल गरेका छन् । यसअघि, विदेश सचिव जयशंकरले भारतीय दूतावासमा आयोजित दिवा भोजकाक्रममा मधेसी नेताहरुसँग सामूहिक भेटघाट गरेका थिए ।
भेटमा मधेसी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव र लक्ष्मणलाल कर्णको मात्रै सहभागिता रहेको थियो । उनीहरुले मधेस आन्दोलन, नयाँ संविधान र मधेसको समस्यालगायतका विषयमा भारतीय विदेश सचिवसँग कुरा राखेका थिए । भारतीय विदेश सचिव जयशंकरले भने मधेसी नेताहरुको कुरामा कुनै टिप्पणी नगरेको र समाधानको विषयमा मात्रै जिज्ञासा राखेको बताइएको छ ।
विदेश सचिवले शुक्रबारै साँझ प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने तय गरिएको छ । यसैगरी, उनले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश सचिवले संविधान निर्माणमा असन्तुष्ट मधेसी दल तथा थारु सभासदहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
शुक्रबार बिहान काठमाडौं ओर्लेलगत्तै उनले राजनीतिक भेटवार्ता गरेका हुन् । उनले पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.