उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

0

दोधारा चाँदनी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दशैं तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन् ।

चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उमेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ ।

गड्डाचौकी नाकामा पछिल्लो केही दिनयता कामको लागि भारत जानेको सङ्ख्या बढेको छ । “चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरू भोट मागेपछि फर्किदैनन्,” रोजगारीको खोजीमा भारत जान लागेका चौधरीले भने, “हामीलाई त भारत नगइ सुख छैन, नत्र परिवार कसरी पाल्ने ।”

उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताए । “आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपर्थ्याे र”, उनले भने, “भारत नगइ खानपीनको जोहो गर्न सकिँदैन ।”

आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लागेका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आएका छन् । “भारतको बद्रीनाथमा हाम्रो गाउँका २५/३० जना मजदुरी गर्छाैँ,” उनले भने, “चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन ।”

चौधरीसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका–५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नुपरेको बताउँछन् । “त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ”, उनले भने, “अहिले पनि नेताहरू रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन्, हेरौँ यसपालि के गर्छन् ।”

नेताहरू अहिले गाउँमा भोट माग्न आउँदा आफूहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेको छ ।

प्रहरीको तथ्याङ्कअनुसार मङ्गलबार ८९ जना रोजगारीका लागि भारत गएका छन् । बुधबार सो सङ्ख्या बढेर एक सय ८० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.