वीर अस्पतालको चरम लापरवाही : नमिल्ने मृगौला दाताबाट झिकेपछि…

0

काठमाडौं : प्रत्यारोपण गर्न नमिल्ने मृगौला दाताबाट झिक्ने जस्तो वीर अस्पतालको कमजोरी बाहिर आएको छ । चिकित्सकहरूका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको भए पनि प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो नदेखिएपछि समस्या भएको हो ।

धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएपछि कतिपयले चिकित्सकमाथि कै विश्वासको प्रश्न उठाएका छन् । चिकित्सकहरुका अनुसार ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्यारोपणको तयारी सर्जन डा. पारसमणि नेपाल र सर्जन डा. अनिल श्रेष्ठले गरेका थिए । तर, प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो नदेखिएकोले प्रत्यारोपणको कार्य गर्न नसकिएको अस्पतालका अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । 

प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको तर, प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो नदेखिनुका पछाडिको कारण खोजी गर्न अस्पतालले सर्जरी विभागका चिकित्सक डा.प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन पनि गरेको छ । वीरको युरोलोजी विभागका प्रमुख डा. रविन बस्नेतले मिर्गौला प्रत्यारोपणका क्रममा कहिलेकाँही यस्ता समस्या हुनु प्राविधिक कुरा भएको बताए । मिर्गौला प्रत्यारोपणका लागि दाताको शरीरबाट मिर्गौला झिकिसकेपछि चिकित्सकले प्रत्यारोपण नगरी छाडेर हिँडेको घटनामा अस्पतालले छानबिन समिति गठन गरेको हो ।

सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिमा अस्पतालका मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, रेडियोलजी विभागका प्रमुख डा. सरोज शर्मा, सिटिभिएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २ साताको समय दिइएको छ ।  ‘मिर्गौला प्रत्यारोपणका क्रममा गल्ती गरेको, दाताको मिर्गौला झिकेर चिकित्सकले छाडेर हिँडेको भन्दै हामीलाई बिरामीका आफन्तले उजुरी गर्नुभएको छ । हामीले पनि छानबिन समिति गठन गरेका छौँ, अब के कहाँ गल्ती भएको भन्ने कुरा छानबिन प्रतिवेदनपछि थाहा हुन्छ’ विभागका प्रमुख डा. रविन बस्नेतले भने । उनले बिरामीले लगाएका कतिपय आरोपहरू गलत समेत रहेको र बिरामीको उपचार निःशुल्क गर्ने या नगर्ने भन्ने कुरा प्रतिवेदनले गरेको निर्णय गरेर अनुसार हुने पनि जानकारी दिए । 

अस्पतालका प्रत्यारोपण सर्जन डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङकी ती महिलाको गत मंगलबार मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए । उनलाई मिर्गौला दिन तयार भएपछि उनकै सासुको सबै परीक्षण गरियो र मिर्गौला निकालिएको थियो । तर, मिर्गौला झिकेपछि भने बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भन्दै प्रत्यारोपणमा संलग्न सर्जन नेपाल र श्रेष्ठ बिरामी तथा बिरामीका आफन्तलाई कुनै जानकारी नै नदिई हिँडेका थिए । चिकित्सकले छोडेर गएपछि बिरामीका आफन्तहरू निर्देशक बस्नेतको कक्षमा पुगेका थिए । त्यसपछि यो विषय बाहिर आएको हो ।

Leave A Reply

Your email address will not be published.