आम चुनाव ०७९ : ३५ उम्मेदवारलाई कारबाहीको तयारी

0

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका ३५ जना उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा परेको परेको उजुरी अगाडि बढेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै आयोगले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको जानकारी दिएको छ ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारी धेरै ठाउँमा आचारसंहिता उल्लंघन भएको उजुरी परेको तर, ३५ जना उम्मेदवारले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको बताउँछन् । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको पनि उनको भनाइ छ । 

आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारहरुलाई आयुक्त भण्डारीले आग्रह गरे । निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै उनी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोही उम्मेदवार कारबाही पर्ने चेतावनी दिन्छन् । ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताउँछन् । 

बिहीबार मात्रै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लघंन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले चुनाव जिते युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । अध्यक्ष नेपालको उक्त भाषणको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ । उक्त भिडियोलाई आधार बनाएर आयोगले नेता नेपालसँग स्पष्टीकरण सोधेको हो । 

‘आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँ होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भइ यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले नेता नेपाललाई लेखेको पत्रमा भनिएको छ । नेता नेपाललाई आफैँ वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेश गर्ने सुविधा दिइएको छ । ‘तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यलयमा स्पष्टीकरण पेश गर्नुहुन जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ । 

साथसाथै, आयोगले नेता नेपाललाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पनि अनुरोध गरिएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार, अब जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाही प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । ‘आरोप लागेका कुनैपनि व्यक्तिलाई पक्राउ गर्ने वा नगर्ने भन्ने प्रहरीको स्वविवेकको विषय भयो’ वाग्ले भन्छन्, ‘तर निर्वाचन आयोगको पत्र पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्छ ।’

तर, आयोगले गरेको पत्र अनुसार कारबाही भए दुई वर्षसम्म कैद, एक लाख रुपैयाँ जरिवानाको सजाय व्यवस्था भएकाले पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपाल पक्राउ पर्ने सम्भावना कम छ । पक्राउ गर्नुपर्ने भएमा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र लिनुपर्छ । 

चुनावी प्रचार सीमा : आम सभामा १० वटा मात्रै झण्डा ! 

निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमा तोकेको छ । आयोगका अनुसार जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३/४ फिटको दश÷दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ । बिहीबार राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गर्दै आयोगले निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमा सार्वजनिक गरेको हो । 

साथसाथै, उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।

चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ । साथसाथै, निर्वाचन आयोगले चुनावी प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन पनि आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले भनेको छ, ‘ बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’  बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै  स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ ।

घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।

Leave A Reply

Your email address will not be published.