राजु गुरुङको उम्मेदवारी खारेज : गठबन्धनलाई आहत, पौडेललाई राहत

0

काठमाडौं : रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गुरुङको उम्मेदवारी खारेज हुने निर्वाचन आयोगको निर्णय सदर गरिदिएको हो ।  

संयुक्त इजलासले तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । 

रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम बैंकिङ कसुरमा   कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरिदिएका थिए । उनले निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

शुक्रबार ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सुनवाई गर्दै गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने दृष्टिकोण दिएको हो ।

आदेशमा भनिएको छ, ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो ।’ कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता कायम रहेको देखिँदा निवेदक राजु गुरुङ प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था नदेखिएको आदेशमा उल्लेख छ । ‘कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन’ आदेशमा भनिएको छ । 

दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारबिना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । स्थानीय नेताहरुका अनुसार रुपन्देही–२ मा सत्तागठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै विपक्षी एमालेका उम्मेदवार पौडेललाई राहत मिल्ने भएको हो । किनभने, पौडेलका प्रतिस्पर्धीहरूमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एककिृत समाजवादीका उम्मेदवार छैनन् । 

Leave A Reply

Your email address will not be published.