अस्ट्रियामा मःम बेचेर भूकम्पपीडितलाई राहत

0

रत्ननगर, ३१ भदौ । अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ । अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई लाखभन्दा बढीको राहत सामग्री वितरण गरेको हो ।
लायन्स क्लब अफ चितवन सौराहाको व्यवस्थापनमा ‘धन्यवाद नेपाल हिल्फे’ नामको संस्थाले भूकम्पपीडितलाई राहत उपलब्ध गराएको हो । उनीहरुलगायत सहयोगीहरुले अस्ट्रियामा मःम र समोसा बेच्नका लागि उत्सव आयोजना गरेका थिए ।
नेपालमा गएको भूकम्पमा पीडित भएकाका लागि सहयोगीहरुसँग मिलेर मःम र समोसा बिक्रीबाट आएको रकमबाट भूकम्पपीडितलाई राहत दिएको मुलरले बताउनुभयो । उहाँले गाउँमा भूकम्पपीडितलाई प्रत्यक्ष भेटेर राहत सहयोग दिन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
भूकम्पपीडितलाई प्रतिपरिवार एक बोरा चामल, एक लिटर तेल, दाल, चिउरालगायत राहत सामग्री वितरण गरिएको टोलीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.