संविधान पारितसँगै निजी क्षेत्र उत्साहित

0

चितवन, ३१ भदौ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको पर्खाइमा रहेका स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा लगानी गर्नेमा पनि निजी क्षेत्र विश्वस्त बनेको छ ।
बन्द हडतालका कारण निजी क्षेत्र अस्तव्यस्त बनिरहेका बेला संविधान पारित भएसँगै मुलुकले कोल्टो फेर्ने उनीहरुको भनाइ छ । पोल्ट्री क्षेत्रमा अरबौँको लगानी भएको र देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा औद्योगिक क्षेत्रमा मात्रै रु दुई सय अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीको अनुमान छ ।
पर्यटन, पोल्ट्रीसहित शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा चितवन अग्रणी मानिन्छ । देशभरमा पोल्ट्री क्षेत्रमा मात्रै रु ७० अर्बभन्दा बढीको लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये आधाभन्दा बढी चितवनमै लगानी भएको उनीहरुको भनाइ छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले लामो समयसम्मको अस्थिरताका कारण धरापमा पुगेको यो व्यवसायले अब फड्को मार्ने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष गिरिधारी चौधरी नेपालमा संविधान जारी भएसँगै अन्तर्राष्ट्रिय जगत्मा जाने सकारात्मक सन्देश र त्यसपछि भित्रिने पर्यटकले देशको विकासमा ठूलो टेवा पुग्ने बताउनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.