राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।

संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरहेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेश भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काएकी थिइन् । तर संसद्ले राष्ट्रपतिको सुझावलाई पूरै बेवास्ता गर्दै दोस्रो पटक पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरेको थियो ।

यस क्रममा राष्ट्रपतिले विभिन्न कानुनविद् तथा नागरिक समाजका अगुवासँगसमेत छलफल गरेकी थिइन् । नागरिक अगुवाहरूले विधेयक यही अवस्थामा कुनै हालतमा पनि प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।

यसरी विधेयक दोस्रो पटक पनि प्रमाणीकरण हुन नसकेको र प्रतिनिधि सभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब यो विधेयक के हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

Leave A Reply

Your email address will not be published.