समानुपातिकमा अधिकांश नयाँ अनुहार

0

काठमाडौं : राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका हुन् । 

सबैजसो राजनीतिक दलले पुराना नेताहरूलाई नदोहोर्याउँदा समानुपातिकमा नयाँ अनुहार परेका छन् । उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको बताए । तर, पुराना नदोहोरिएको भन्दै उनले कांग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विगतमा समानुपातिक प्रदेश वा सङ्घबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधानसभामा मनोनयनतर्फको प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरूलाई बन्दसूचीमा नराखेको बताए । पार्टीले युवाहरूलाई विशेष जोड दिएको उनको भनाइ छ ।

बन्दसूची बुझाएपछि नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरूलाई नदोहोराएको जानकारी दिए । समानुपातिक सूचीमा कोही पनि पुराना नेताहरू नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको बताए ।

राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्द सूचीको नाम पेस गरेको बताए । उनले केन्द्रीय पदाधिकारीहरू सबै प्रत्यक्षमा चुनाव लड्ने पनि जानकारी दिए । प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । 

केही पावरफुल नेताहरू पनि बसे

केही पावरफुल नेताहरु पनि समानुपातिकमा बसेका छन् ।  नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाएको छ । प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु समानुपातिकमा बसेकी हुन् । २०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा समानुपातिकमा बस्ने निर्णय लिएकी हुन् । 

कांग्रेसकै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा बसेका छन् । 
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको ११० जनाको सूचीमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।

बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएका थिए । २७ वैशाखमा सञ्चारमन्त्री भएकी उनी सर्वोच्च अदालतको आदेशका कारण दुई सातामै पदबाट हट्नु परेको थियो ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि समानुपातिकमा बसेका छन् ।  माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित सांसद हुन् । महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । यसपटक भने उनी समानुपातिक पद्धतितर्फको उम्मेदवारको सूचीमा बसेका हुन् । 

नेकपा एकीकृत समाजवादीका तीन पदाधिकारी समानुपातिकमा बसेका छन् । निर्वाचन आयोगमा एकीकृत समाजवादीले बुझाएको सूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम छ । पदाधिकारीबाट उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव तुलाधर र सचिव नागेन्द्र चौधरीसहित तीन जनाको नाम सिफारिस भएको हो । स्थायी कमिटी सदस्यहरु रामचन्द्र यादव, सावित्रा भुसाल, श्रीप्रसाद साह र भवेश्वर पराजुली पनि समानुपातिकमा बसेका छन् । लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ पनि समानुपातिकमा छन् ।

Leave A Reply

Your email address will not be published.