राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान

0

लन्डन – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ। जस अनुसार  प्रा डा सूर्य प्रसाद सुवेदी लाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’  प्रदान गरिएको छ। अहिलेसम्म गैरआवासीय नेपालीहरुले पाएका मान पदवीहरुमध्ये यस्तो उपल्लो तहको मान पदवी पाउने प्रा सुवेदी पहिलो व्यक्ति हुन्। भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले आफ्नो योगदानको मूल्यांकन भएकोमा नेपाल राष्ट्रप्रति आभार ब्यक्त गरे।  सरकारमा जो आएपनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा सुवेदीले सल्लाह दिंदै आएका छन्। 

नेपालको नयाँ  नक्शा  समावेश  गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री के पी ओलिको समयमा नेपाल सरकारले गठन गरेको नेपाल-भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन्। सन् २०२२ मा अमेरिका संगको एमसिसि  सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अक्सफोर्ड विश्व  विद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च  उपाधि पाउने प्रा सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्व भित्र पर्दछन।

विशेषज्ञको हिसाबले संयुक्त राष्ट्रसंघको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेको नेपाली हुनुको साथै उनले नेपालमा विभिन्न सरकारी क्षेत्रमा सेवा गरेका छन्। उनले लामो समयसम्म नेपालको अन्तर्राष्ट्रिय अनुहारको रूपमा संसारमा नेपालको परिचय गराएका छन्। प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधि मण्डलको सदस्य भएर संयक्त राष्ट्र संघ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिएका छन् भने अन्य धेरै अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिनिधित्व गरेका छन् र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको फ्रान्समा भएको विश्व सम्मेलनको कानूनी सल्लाहकारको रूपमा पनि काम गरेका छन्।

बेलायत र अमेरिका लगायतका पांचवटा देशका सातवटा विश्व  विद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भै प्रकाशन भएका छन्। उनको “पूर्वीय सभ्यतामा मानव अधिकार” भन्ने ग्रन्थ अन्तरराष्ट्रिय रूपमै चर्चित ग्रन्थ हो। उनले मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी स्वर्गीय महारानीबाट  उनले मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविद्हरुलाई दिईने उच्च उपाधि प्राप्त गरेका थिए।

प्रा सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्व विद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार स्थापना गरेको छ। क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनको नोवेल शान्ति पुरस्कारका लागि मनोनयन भएको थियो।

प्रा सुवेदीले आफुले अध्ययन गरेको लम्जुङ्ग खुदीको अमर माविमा पुस्तकालय निर्माण गर्न उल्लेख्य आर्थिक सहयोग गर्नुका साथै आफ्नो पैत्रिक घर भएको गाउँपालिकामा सामुदायिक भवन बनाउन भूमिदान गरेका छन्।  आफुले अध्ययन गरेको नेपाल ल क्याम्पसलाई बेलायतमा रहेको आफ्नो  पुस्तकालय दान गरेका प्रा सुवेदीले   नेपाल ल क्याम्पसमा अक्षय कोष स्थापना गर्न उल्लेख्य रकम समेत प्रदान गरेका छन् ।

यसै गरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुल आचार्यलाई  सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ।  त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेलाई कीर्तिमय राष्ट्रदीप  पदक प्रदान गरिएको छ।  बेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति भण्डारी तथा लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई प्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ। बेलायत निवासी  साहित्यकार लक्ष्मी राइलाई समाज सेवा रत्न अलंकार प्रदान गरिएको छ।

Leave A Reply

Your email address will not be published.