निर्वाचन प्रक्रिया आजदेखि शुरु, समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न आज र भोलिको समय

0

काठमाडौं : नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आजबाट शुरु भएको छ ।

नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै शुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आजदेखि ६३ दिन बाँकी छ ।

राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न आज र भोलि दुई दिनको समय दिइएको छ ।

आगामी चुनावबाट संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट एक १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ एक सय ६५ जना सदस्य निर्वाचित हुनेछन् । राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । मङ्सिर चार गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानभन्दा ४८ घण्टाअगाडि मङ्सिर एक गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ ।

आयोगले मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मङ्सिर ४ गतेदेखि नै मतगणना शुरु गर्ने जनाएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएपछि आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पठाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल शुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.