काठमाडौं : अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।
पहिरोमा परेकाको उद्दारका क्रममा १४ जनाको शव भेटिएको हो । घटनामा ११ जना घाइते उद्दार गरि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
पहिरोमा परि अझै नौ जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाकारी दिएको छ । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको हो ।
त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएका हुन् । तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको छ ।
यता गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।