देशभर फैलियो डेंगु

0

काठमाडौं : लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप देशभर फैलिएको छ । राजधानी उपत्यकामा महामारीकै रुपमा देखिएको डेंगु देशभर समस्या बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही वर्षसम्म गर्मी हुने स्थानमा मात्रै देखिने डेंगु अहिले लगभग देशभर देखिएको छ । 

सवैभन्दा बढी प्रकोप बागमती प्रदेशमा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इपीसीडी) ले मुलुकको ७५ जिल्लामा डेंगु देखिएको जनाएको छ । पछिल्लो समय डेंगुको संक्रमण तीव्र बनेको पनि जनाइएको छ । 

बुधबार मात्रै १२३० जनामा डेंगुको संक्रमण देखिएको छ । यो सहित डेंगुको संक्रमित संख्या ११,०६५ पुगेको छ । इडीसीडीको तथ्याङ्क अनुसार, बागमती प्रदेशमा मात्रै ८,३९० जनामा डंगुको संक्रमण देखिएको छ । प्रदेश–१ मा ३४७, मधेश प्रदेशमा १९८, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सूदुरपश्चिम प्रदेशमा ३२३ जनामा संक्रमण देखिएको छ ।  

संक्रमणकै कारण ९ जनाको मृत्यु भइसकेको छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । अहिले त्यही संक्रमण देखिएको छ । चिकित्सकहरुका अनुसार, डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार सेरोटाइपिङका भाइरस हुनेगर्छ । नेपालमा १८ वर्षअघि सन् २००४ मा डेंगु देखिएको थियो । त्यस यता वर्षायाममा लगातार यो संक्रमण देखिने गरेको छ ।

डेंगुबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो । त्यसका लागि लामखुट्टे फैलिन नदिने उपाय खोज्नु समेत उपयुक्त हुन्छ । विशेषगरी ट्यांकी, ड्रम, बाटा लगायतलाई लामखुट्टे छिर्न नसक्नेगरी राख्नु उचित हुन्छ । किनभने यसैबाट लामखुट्टे सर्नेगर्छ । 

Leave A Reply

Your email address will not be published.