सिट टुंग्याउन झनै सकस

0

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका पाँच दललाई सिट बाँडफाँड टुंग्याउन झनै सकस देखिएको छ । एमालेलाई पराजित गर्ने उद्देश्य बमोजिम गठबन्धन गरेर जाने रणनीति बनाएका शीर्षस्थ नेतालाई भने सिट बाँडफाँड टुंग्याउन सकस परेको हो । सोमबार दिउँसो बालुवाटरमा घण्टौँ बसेको शीर्षस्थ नेताको बैठकले भागबण्डा टुंगो लगाउन सकेन । यद्यपि, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा बनेको ११ सदस्यीय कार्यदलले भागबण्डा टुंग्याउन र मतको आँकडा निकाल्न सहयोग गरिरहेको छ । 

विशेषगरी, सबै दलका नेताहरु आफ्नो अडानबाट पछि नहटेपछि भागबण्डा मिलाउन सकस भएको हो । अहिले पनि नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गर्दै आएका छन् । जसले गर्दा शीर्षस्थ नेताले पनि भागबण्डामा सहमति जुटाउनै सकेका छैनन् । ‘सभापति शेरबहादुर देउवा लचिलो भएरै पनि सकेसम्म सिट बाँडफाँड टुंग्याउने पक्षमा हुनुहुन्छ, तर पार्टी भित्रका अन्य नेताको दबाव र पार्टीमा विद्रोह गर्नेहरुको संख्या देखिदाँ उहाँलाई थप समस्या भएको छ,ʹ सभापति देउवा निकट एक केन्द्रीय सदस्यले भने । साथै, उनले केही दिनभित्रै बाँडफाँड टुंग्याउने गरि छलफल भएको पनि बताएका छन् ।

तर, नेपाली कांग्रेसले ९० सिटमा आफूले उम्मेदवारी दिएर बाँकी सिट अन्य दललाई दिने रणनीति बनाईरहेको छ । ‘प्रतिनिधिसभाको १६५ सिटमा करिब ७० प्रतिशत कुरा मिलेको छ । बाँकी ३० प्रतिशतमा भोलि टुङ्ग्याउने सहमति भएको छ ।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने । तर, सबै दलको आफ्नै अडान हुँदा सिट बाँडफाँड सहज भने देखिदैँन । सिट बाँडफाँडमा सहमति जुटाउन दुई पक्षीय र त्रिपक्षीय वार्ता भइरहे पनि तत्कालै सहमति जुट्ने अवस्था भने छैन । अझ त्यसमा पनि सबै दलका शीर्षस्थ नेतालाई टिकटको लागि दबाव आउँदा र टिकट नपाए पार्टी छोड्ने नेताहरुको धम्कीका कारण झनै समस्या थपिएको छ ।

‘दलहरुको आ–आफ्नो अडान छ । ती अडानमा हामी सूक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौँ । एकै सिटमा एकभन्दा बढी दलले दाबी गरेको अवस्था छ। तर एक क्षेत्रमा गठबन्धनबाट एक जना मात्रै उम्मेदवार बनाउन जरुरी छ,’ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने ।

अझ कांग्रेसका केही नेता त तत्काल गठबन्धन भत्काउन र एक्लै चुनाव लड्न समेत सुझाव दिईरहेका छन् । अझ नेकपा एमालेले त एक्लै चुनाव लड्न सभापति देउवालाई प्रस्ताव समेत गरेको छ । सिट बाँडफाँडमा तत्कालै सहमति नजुटेपनि मनोनयन अघि भने सबै टुंगिने नेताहरुको विश्वास छ । यद्यपि, पार्टीका नेता र टिकट बाँडफाँडको विषयका कारण शीर्षस्थ नेता नै प्रेशरमा देखिएका छन् । 

Leave A Reply

Your email address will not be published.