दौडधुपमा ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ । चुनावी सभाका लागि जनकपुर गएका ओलीलाई केही स्थानीय युवाहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा प्रहरीले एघार जनालाई नियन्त्रणमा लियो । ओलीविरुद्ध मधेश प्रदेशमा पुरानै आक्रोश छ । 

२०७२ को संविधान जारी हुँदै गर्दा मधेशको भावना बिपरीत अडान लिएको भन्दै ओलीको मधेश केन्द्रीत दलहरुले चर्को विरोध गरेका थिए । तत्कालीन समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले ओलीको पुत्ला दहनदेखि मधेश प्रदेशमै निषेध गर्ने चेतावनी दिएका थिए । त्यसैबेला एमालेले मेची–महाकाली मार्च गर्दा सप्तरीको मलेठमा हिंसात्मक मुठभेड भएको थियो । त्यसपछि एमालेको विपक्षमा मधेशको जनमत निर्माण भएको छ । 

सोमबार जनकपुरमा ओलीप्रति देखिएको आक्रोश त्यसैको शंखला हो । तर ओलीले भने सभालाई सम्बोधन गर्दै एमाले फेरि पनि शक्तिशाली हुने दावी गरे । ओलीले एमाले बलियो बन्ने दावी गरिरहँदा अरु दलसँग तालमेलको सम्भावना नरहेको पनि बताए । मधेशमा कुनैपनि ठाउँ एमालेले छोड्न नसक्ने उनको कथन थियो ।

एमालेका स्थानीय नेताहरुले भने ओलीलाई जनकपुर लगेर चुनावी बातावरण सिर्जना गर्ने प्रयत्न गरेका थिए । पार्टी विभाजन पछि एमालेमा ओली एकल आकर्षणको केन्द्र बनेका छन् । तदनुरुप ओलीको दौडधुप पनि बढेको छ । आफ्नो निर्वाचन क्षेत्र दमक, राजधानी उपत्यकाका विभिन्न कार्यक्रमदेखि देशब्यापी चुनावी सभामा ओली दौडिरहेका छन् । 

ओलीले पनि आफूमा आकर्षण रहेको देखाउन सम्पूर्ण पार्टी कार्यक्रमको तर्जुमा गरिरहेका छन् । चुनाव परिचालन कमिटी, घोषणापत्र मस्यौदा कमिटीको संयोजक आफै बसेका छन् भने ओली बाहेक कुनैपनि पार्टी बैठक बस्न नसक्ने परिस्थिति सिर्जना गरेका छन् । 

Leave A Reply

Your email address will not be published.