सत्ता गठबन्धन बैठक : आज पनि टुंगिएन सिट बाँडफाँड

0

काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निस्कर्षविहीन भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंसिर चार गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सिट बाँडफाँडमा सहमति खोज्न गठबन्धनमा आबद्ध पाँच दलका नेताबीच आज भएको छलफल निस्कर्षमा पुग्न नसकेको हो ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन मात्रै पेश भएपनि बाँडफाँट टुंगो नलागेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् । 

सहमति खोज्नका लागि सोमबार बिहान आठ बजे पुनः सत्ता साझेदार दलहरुको बैठक बस्ने नेताहरुले बताएका छन् । सोमबारको बैठकले सिट बाँडफाँडको टुंगो लगाउने नेताहरुको भनाइ छ ।

नमिलेका विषयमा आजै दिउँसो कार्यदलका नेताहरुले पनि छलफल गर्ने सहमति भएको छ । 

गठबन्धनमा कांग्रेसले एक सय सिट दाबी गरेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । 

दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा तीन सातादेखि सत्ता साझेदार दलका छलफल निस्कर्षविहीन हुँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.