वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक छेडाए जिब्रो

0

काठमाडौं : मध्यपुर थिमि बालकुमारीका ३५ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएका छन् । 

कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको जिब्रो छेड्ने गएराति सञ्चालन गरिएको हो । 

११ वर्ष रोकिएको थिमिको जिब्रो छेड्ने जात्रा बचाएर २०७४ सालमा जिब्रो छेडाएका वीरेन्द्रभक्तले पुनः इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । वीरेन्द्रभक्तले जिब्रो छेडेर नगर परिक्रमा समेत गरेका छन् ।

येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । 

बालकुमारीबाट पूजापछि अर्ध चन्द्रमा आकारको महादिप ‘भ्ये’ बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा गरेर यो जात्रा मनाइने गरिन्छ । 

२०७५ मा बालकराम श्रेष्ठले जिब्रो छेडाएपछि कोरोनाका कारण रोकिएको थिमिको जिब्रो छेड्ने जात्राको प्राण यसवर्ष वीरेन्द्रभक्तले दिएका हुन् । 

दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । 

मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेडाएर जात्रा मनाउने प्रचलन छ । 

प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याकले थिमीका मानिसलाई धेरै दुःख दिने गर्थे । सो पिशाच पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको सम्झनामा जिब्रो छेड्ने परम्परा बसेको स्थानीय बताउँछन् । 

आर्थिक अभावले लोप भएको जिब्रो छेड्ने जात्रा २०७४ मा निर्वाचित जनप्रतिनिधिको सक्रियतामा संचालनमा आएको हो । 

मध्यपुर थिमि कै बोडेमा बिस्केट जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । बोडेको जिब्रो छेड्ने जात्राले निरन्तरता पाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.